काठमाडौंमा एक साता थपियो निषेधाज्ञा, खाद्यान्न र तरकारी पसल पनि बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको छ ।
‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भने, ‘‘खाद्यान्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइकासाथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।” सागसब्जी दुध माछामासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।
प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए ।