संक्रमणको समयमा सरकार असंवेदनशील : चिकित्सक संघ
काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड-१९ संक्रमणको समयमा सरकार असंवेदनशील बनेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै सरकारले कोरोनाकालमा चुनाव घोषणा गरेर असंवेदनशीलता प्रकट गरेको जनाएका हुन् ।“कोभिड-१९ संक्रमणबाट जोगिने एक मात्र उपाय भनेको सामाजिक दूरी कायम गर्ने, सरकार आफैँले जारी गरेको जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गर्ने, नियमित रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहनुपर्ने विद्यमान अवस्थामा सरकार स्वयंले चुनावको घोषणा गरेर अस्वाभाविक र असंवेदनशीलता प्रकट गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
नागरिकले विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउँदै स्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न विज्ञप्तिमार्फत अपिलसमेत गरिएको छ ।