किन अझै सघन रुपमा घट्न सकिरहेको छैन उपत्यकामा कोरोना संक्रमण ?
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको छ । पछिल्लो दुई साताको कोरोना तथ्याङ्कका आधारमा संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको हो ।
देशभरीमै सबैभन्दा बढी संक्रमण र मृत्युदर काठमाडौंमै छ । औसतमा ३ हजारदेखि माथि दैनिक संक्रमित थपिँदै गएका छन् । उपत्यकामै अक्सिजनको अभाव भएको छ ।
कोरोना नियन्त्रणका लागिभन्दै वैशाख १६ गतेदेखि जेठ १३ गतेसम्म निषेधाज्ञा जारी छ । तर, संक्रमण दर भने घटेको छैन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञाकै कारण अवस्था भयावह हुनबाट रोकिएको बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । १७ सय ९१ जनाको मृत्यु भएको छ । पराजुलीले भने, “काठमाडौंको अवस्था ‘स्टेवल’ देखिन्छ । यहाँ अधिकतम ४८ प्रतिशतसम्म संक्रमण बढेको थियो भने न्युनतम ३२ मा झरेको थियो । केही दिन घटे पनि फेरि बढेको छ । यसलाई स्टेवल नै मान्न सकिन्छ ।”