अविश्वास र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन एमाले कार्यदलको आग्रह


पार्टी विवाद समाधान गर्न एमालेले गठन गरेको कार्यदलले अविश्वास असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिबाट आग्रह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलवार बसेको कार्यदलको पहिलो बैठकले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्ने निर्णय गरेको कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए ।
‘बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने सहमति गरेको छ । पार्टीमा देखिएका समस्या थयोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अगाडि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ’ रावलले भने ।

कार्यदलका अर्का सदस्यका अनुसार पहिलो दिनको बैठकमा आचारसंहिता लगायत सामान्य विषयमा छलफल भएको छ ।

भोलि बस्ने बैठकमा विषय केन्द्रित छलफल हुने ती सदस्यले बताए ।

‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिबाट आग्रह गर्ने निर्णय गरेको छ,’ रावलले भने ।

कार्यव्यस्तता भन्दै कार्यदलको पहिलो बैठकमा विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित थिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार दुवै पक्षबाट पाँच–पाँचजना सदस्य रहेको कार्यदल बनाउने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *