अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मको लागि बन्द
काठमाडौं। सरकारले नेपाल-भारत बाहेक अन्तर्राष्ट्रिय नियमित उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। मंगलवार पर्यटन मन्त्रालयमा भएको छलफलमा जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।
उनका अनुसार यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले अत्यावश्यक चार्टर र कार्गो उडान भने गर्न पाउने छन्।
‘तत्कालै आन्तरिक र अन्तर्राष्ट्रिय नियमित उडान खुला गर्ने अवस्था छैन। यो अवस्थालाई मध्यनजर गर्दै मंगलवार मन्त्रालयमा बसेको बैठकले आउँदो जेठ १७ गतेसम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको नियमित उडान रोक्नका लागि समय थप्ने निर्णय भएको हो,’ उनले भने।
काठमाडौं-नयाँ दिल्ली-काठमाडौं भने साताको एक दिन निरन्तर चल्न पाउनेछ।