अब लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने भएको छ ।
यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार दुई दल मिलेर बनेको बहुमतको सरकार थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना ४ सांसदलाई निष्कासन गरेपछि प्रदेश सभामा एमालेको एकल बहुमत पुगेको छ ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अब एकल बहुमतको सरकार बनाउने तयारी रहेको नेकपा एमाले रुपन्देहीका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बताए ।
‘संविधान अनुसार अहिलेको सरकार १६८ (२) अनुुसारको हो । अब संविधानको धारा १६८ (१) अनुसार एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बन्छ । मुख्यमन्त्री शंकर पोखरेल नै बन्नुहुन्छ,’ उनले भने ।
कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद थिए । यस्तो अवस्थामा एमालेको एकल बहुमत पुगेको थिएन । तर पछि माओवादीका २ सांसद र जसपाका ४ सांसद पदमुक्त भएका छन् । यससँगै प्रदेशसभामा सभामुखसहित ८१ सदस्य रहन्छन् । ८१ सांसद रहँदा एमालेका ४१ सांसदको संख्या एकल बहुमत हो ।