कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय फेरि सङ्कटमा
बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।
बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।
कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिमरूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।
प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि झण्डै जिल्लाका ५०० बुकिङ रद्द भएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए। “जिल्लामा अवलोकन भ्रमण गर्नेको चाप ह्वात्तै बढेको थियो तर कोरोनाको जोखिम बढेको भन्दै पर्यटकीय स्थलमा वैशाख ८ गतेदेखि प्रवेशमा रोक लगाइएपछि अग्रिम बुकिङ भएका होटलहरु धमाधम रद्द भएको हो”, राजभण्डारीले भने, “कोरोनाले थलिएका होटल व्यवसाय उठ्न थालेको समयमा पुनः समस्या परेको छ, अन्य जिल्लाको तुलनामा बागलुङमा बढी असर परेको देखिन्छ, सबै सचेत हुन जरुरी छ ।”
कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएपछि होटलहरु सुनसान भएका हुन् । लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि सञ्चालनमा आएका थिए तर पुनः कोरोना जोखिम बढेसँगै व्यापार व्यवसाय चल्न छाडेका छन् ।
बागलुङका होटल चल्ने भनेकै बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो बागलुङ बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङगे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्राहलय हेर्न पाठपूजा गर्न आउने भए पनि प्रशासनले रोक लगाएपछि झनै समस्या भएको होटल व्यवसायी गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल बताउछन्। “लामो समयपछि होटल व्यवसाय चलेको अवस्था थियो, एक्कासि मठ मन्दिरमा प्रवेश रोक लगाइएपछि होटल व्यवसायमा थप सङ्कट आउने अवस्था छ”, उनले भने ।
अन्य जिल्लामा मठमन्दिर प्रवेशमा रोक नलगाइएको तर बागलुङमा बन्द हुँदा प्रत्यक्षरूपमा यहाँका व्यापारी मारमा परेको चोखालको गुनासो छ । उनले सम्बन्धित निकायले वैज्ञानिक ढङ्गले मापदण्ड बनाएर मठमन्दिरमा प्रवेश गर्न दिए राम्रो हुने बताए । सम्बन्धित निकायले होटल व्यवसायीसँग छलफलसमेत नगरी अन्य जिल्लाबाट बागलुङ घुम्न आउने पर्यटकलाई रोक लगाएको होटल व्यवसायीको गुनासो रहेको चोखालले बताए ।
कालिका मन्दिर र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीले गर्दा नै बागलुङका होटल व्यवसायी चलेको तर अहिले मठमन्दिर प्रवेशमा रोक लगाउँदा होटल व्यवसायी मारमा परेको व्यवसायीको गुनासो छ ।