सार्वजनिक सवारी साधनमा भाडा बढाउने सरकारको तयारी
काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनमा भाडा बढाउने तयारी गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैज्ञानिक तवरले सार्वजनिक सवारीको भाडा बढाउन माग गरेपछि सरकारले भाडा बढाउने वा समायोजन गर्नेबारे अध्यन थालेको यातायात व्यवस्था विभागले जनाएको छ ।
बिहीबार यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा बनेको समितिले भाडा बढाउनेबारे छलफल गरेकोे महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । आफूहरुले पेट्रोलियम पदार्थ र सवारीको पाटपुर्जाको मुल्य बढेकाले भाडा बढाउनुपर्ने माग राख्दै आएको उनको भनाइ छ ।
अध्ययन गर्न बनेको समितिले भाडा समाजोजनबारे अध्ययन गरी सार्वजनिक सवारी साधनमा भाडा बढाउन सिफारिस गर्ने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । उनले सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको र सोहीअनुसार भाडा बढाउन अध्यन थालिएको बताए ।