९९.५ मेगावाट क्षमताको तामाकोसी-५ निर्माणको तयारी
माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी-५ निर्माणको तयारी भइरहेको छ ।
दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु(याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी-५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिए ।
जनताको जलविद्युत् कार्यक्रममा राखिएको यो आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण थाल्ने योजना प्राधिकरणको छ ।