केमा अड्कियो तीन दलबीचको नयाँ सत्ता गठबन्धनको प्रयास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेदेखि नै तीन दल (नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी) पार्टीले गठबन्धन बनाउन प्रयास गरे ।
तर, त्यो गठबन्धनको प्रयास अहिलेसम्म सफल भएको छैन । प्रयास भने अझै जारी छ । यो प्रयास सकारात्मक दिशामा अघि बढेको नेताहरुले दाबी गरेका छन् ।
मंगलबार तीन दलका शीर्ष नेताहरुबीच छुट्टाछुट्टै छलफल भएका छन् । सुरुमा जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरे ।
साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भयो ।मंगलबारको भेटघाट सकारात्मक दिशामा अघि बढेको नेताहरुले दाबी गरेका छन् । तर, नयाँ सत्ता समीकरणको प्रयासमा रहेका तीन दलबीच अझैसम्म गठबन्धन बन्न सकेको छैन ।