राष्ट्रिय प्रसारणमा विद्युत् थप गर्ने सरकारको लक्ष्यमा कोभिड -१९ ले धक्का


राष्ट्रिय प्रसारणमा हरेक वर्ष १ हजार मेगावाट विद्युत् थप गर्ने सरकारको लक्ष्यमा कोभिड १९ ले धक्का दिएको छ। सरकारको ४५६ र निजी प्रवर्द्धकका ५०० गरी १ हजार मेगावाट थप गर्ने लक्ष्य थियो। तर, यो आर्थिक वर्ष जलविद्युत् आयोजनाबाट ६४३ मेगावाट मात्रै थपिने देखिएको छ।

चालु वर्षको नौ महिनामा निजी प्रवर्द्धकहरूको ३७ मेगावाट विद्युत् मात्र राष्ट्रिय प्रसारणमा जोडिएको छ। निजी प्रवर्द्धकबाटै असारसम्ममा थप १५० मेगावाट थपिने अनुमान छ। सरकारी स्वामित्वको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट वैशाखभित्र पहिलो युनिटको ७६ मेगावाट जोडिने अहिलेको प्रक्षेपण छ। बाँकी ५ युनिटको बिजुली क्रमशः जोडिने आयोजनाले बताएको छ। माथिल्लो तामाकोसीसहित करिब ८२५ मेगावाट चालु वर्ष राष्ट्रिय प्रसारणमा जोडिने नेपाल विद्युत् प्राधिकरणले आकलन गरेको थियो। यही अवधिमा सौर्य ऊर्जाबाट १८ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको छ।सरकारी र निजी प्रवर्द्धकबाट ४ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन्। ९०७ मेगावाटका ७ आयोजना प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका छन्। ३ हजार मेगावाटका १ सय ८० आयोजना निजी प्रवर्द्धकले निर्माण गरिरहेका छन्।

प्रतियुनिट २० करोड रुपैयाँ लगानीलाई आधार मान्दा निजी प्रवर्द्धकका आयोजनामा ६ खर्बभन्दा बढी लगानी रहेको देखिन्छ। निर्माणमा कुनै बाधा नआए यी आयोजना सन् २०२१ देखि सन् २०२४ सम्ममा विद्युत् उत्पादनमा गइसक्ने अनुमान गरिएको छ।६ हजार मेगावाटका आयोजना विद्युत् खरिद सम्झौता गरी निर्माण चरणमा जाने तयारीमा छन्। तर, गत वर्ष चैतमा सुरु भएको कोभिडको असरका कारण यी आयोजना निर्माणको समयसीमा कम्तीमा एक वर्ष पछि धकलिएको छ। कोभिडको दोस्रो लहरले यी आयोजनाको निर्माणको काम पुनः प्रभावित बन्ने देखिएको छ। कोभिडको दोस्रो लहर भारतलगायत मुलुकमा सुरु भइसकेको अवस्थामा सामान आयात, कामदारलगायतमा असर देखिन थालेको छ। यसले समयसीमासँगै आयोजनाको लागत बढाउने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *