भारतमा फेरि उकालो लाग्दै कोरोनाको ग्राफ
भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ३५ हजार ८७१ जनामा संक्रमण पुष्टि भएको हो। बुधवार करिब २८ हजारमा संक्रमण देखिएको थियो।
बिहीबार बिहानसम्मको रिपोर्टका अनुसार कोरोनाका कारण थप १७२ जनाको मृत्यु भएको छ। यससँगै भारतभर १ लाख ५९ हजार २१६ जनाको मृत्यु संक्रमणका कारण भएको छ।
हाल भारतभर २ लाख ५२ हजार ३६४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
पछिल्लो केही दिनदेखि भारतमा संक्रमणको दर बढ्दै गएको छ। महाराष्ट्रमा मात्रै २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। जसकारण केही क्षेत्रमा पूर्ण लकडाउन लगाइएको छ भने केही क्षेत्रहरुमा प्रतिबन्धहरु लगाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण फेरि बढ्दै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।