राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग भेटघाटमा उनले नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताप्रति धन्यवाद प्रकट गरिन् ।राष्ट्रपतिले भनिन्, “हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ ।
यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्दछ ।”