नेसनल लाइफको २५ हजार कित्ता शेयर बिक्रीमा
लगानीकर्तालाई बीमा कम्पनीको शेयर किन्ने अवसर छ । एनआईसी एसिया बैंक लिमिटेडले नेसनल लाइफ इन्स्योरन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक २५ हजार शेयर बिक्री गर्न लागेको हो । आज सोमबारबाट २५ हजार कित्ता शेयर लिलामी बिक्रीमा राखेको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताहरुले बोलकबोल गर्दा न्यूनतम १०० र अधिकतममा सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने बताइएको छ । बोलपत्र पेस गर्ने अन्तिम म्याद फागुन २३ गतेसम्म तोकिएको छ ।
बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकका काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय तथा बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा महेन्द्रपुल, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा पेस गर्न सकिने एनआईसी एसिया क्यापिटले जनाएको छ ।