प्रधानमन्त्री र राष्ट्रपतिले पदबाट राजीना दिनुपर्छ : विवेकशील साझा
विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जनाएको छ।
विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ, विवेकशील साझाले भनेको छ, विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ।
यसैगरी संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएको आरोप लगाउँदै राष्ट्रपति भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्ने माग विवेकशील साझाले गरेको छ।