किसुनजी राष्ट्रिय हाफ म्याराथन चैतमा
नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले चैत २२ गते प्रथम किसुन जी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले आज पत्रकार सम्मेलन गर्दै कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराइको स्मृतीमा म्याराथन आयोजना गर्न लागेको जनाएको हो।
काठमाडौं क्षेत्रनं ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु भएर धुम्बाराही, सुकेधारा, चाबाहिल, गौशाला, कमलपोखरी, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकबाट बुढानिलकण्ठ हुँदै फेरि गोल्फुटार बास्केटबल कोर्टमै आएर रेस सकिने आयोजकले जनाएको छ।
प्रतियोगितामा महिला तथा पुरुष तर्फका विजेताहरुले समान २५/२५ हजार नगद प्राप्त गर्नेछन् भने दोस्रो हुने खेलाडीले १५/१५ हजार, तेस्रोले १०/१० हजार तथा चौथो र पाँचौं हुने खेलाडीले समान ५/५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि करिब ९ लाख रुपैयाँ अनुमानित रहेको आयोजकले जनाएको छ।