देशमा वैदेशिक हस्तक्षेप बढ्न थालीसक्यो : नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रदै गरेको र विदेशी शक्तिहरु आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको बताएका हुन् ।‘संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ,’ उनले लेखेका छन्, ‘सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनका आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ ।’
‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् ।’
उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सबै देशभक्त शक्तिहरुलाई एक हुन आव्हान पनि गरेका छन् ।
केही दिनअघि प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई सच्याउन अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको थियो । तर, आफ्नै समूहले विदेशी शक्तिलाई गुहारी रहेको अवस्थामा प्रवक्ता श्रेष्ठको पछिल्लो धारणालाई लिएर आलोचना गरिएको छ ।