पुनः सञ्चालनमा आएको तातोपानी नाका फेरी बन्द हुने
लामो समयसम्म बन्द भएर पुनः सञ्चालनमा आएको तातोपानी नाका फेरी बन्द हुने भएको छ । गत असारमा आएको बाढिले क्षति पुर्याएको नाका मर्मतका लागि माघ ७ गतेबाट पुनः बन्द गर्न लागिएको हो ।
नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल र बर्खाले क्षति पुर्याएको सडक मर्मतका लागि नाका बन्दगर्नुपर्ने जानकारी चिनियाँ पक्षले दिएको भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री चिनियाँ पक्षले प्राविधिक मगाएर पुलको अवस्था जाँच गरेपछि मर्मतको काम सुरु गर्ने जानकारी दिएको बताउँछन् ।
उनका अनुसार पुल मर्मतका लागि चिनियाँ पक्षले बढीमा २० दिनको समय लाग्ने अनुमान गरेर समय मागेका छन् ।
तिब्बतबाट चिनियाँ प्राविधिक ल्याएर क्षति पुगेको पुलको अवस्था जाँच गर्ने र विभिन्न क्षेत्रमा बिग्रिएको सडकमार्गको मर्मतको तयारी भएको जानकारी दिएका छन् ।