जो नामले भन्दा ज्यादा पात्रका कारणले चर्चित छन्


हरेक उद्योगले वर्गीकरण गरेको छ । वर्गीकरणले शायद बजारलाई सहुलियत हुन्छ होला ।निर्जीव बस्तुमा गरिने भेदभावले त केही हुँदैन तर सजिव बस्तुमा यस्तो भेदभाव गलत नै मान्छु म त ! हुन त सबैले यो मान्दैनन्, केहिले त पक्कै स्वीकार गर्लान् ! सिनेमा पनि एक उद्योग नै हो। बजार यसको लागि मन्दिर-मक्का सबै हो त्यसैले बजारलाई सहजीकरण गर्ने कुरामा सिनेमाले पनि भुमिका खेल्छ, त्यसैले सिनेमाले पनि वर्गीकरण गर्छ ।जस्तै नायक- नायिका सहनायक, चरित्र अभिनेता आदि इत्यादि ।
यी त बजार रिजाउने एक श्रेणी मात्र होलान्। एउटा एक्टरका लागि के यी रयांकले केही अर्थ राख्लान? शायद राख्न पनि सक्छ,नराख्ने संभावना पनि उति नैछ। आजको बलिउडका सबभन्दा सामर्थ्यवान कलाकारहरुमा पर्ने नवाजउद्दिन सिद्दकी र मनोज बाज्पेयी जस्ता उम्दा कलाकारलाई यस्ता कुराको बाल मतलब छैन । उनीहरु बारबार भनिरहेका हुन्छन् म एक्टर हु,स्टार होइन । स्टारको लत त शाहरुख खान जस्ता कलाकारलाई ज्यादा हुने हो।
बलिउडमै अर्को यस्तै कलाकार छन् जसलाई साइड एक्टर भन्दा भाउन्न हुन्छ किनकी उनी आफुलाई केवल कलाकार मान्छन। संजय मिश्र भन्छन् यो साइड हिरो भनेको के हो? कुन ग्रहमा बस्छ यो?
उनको कुरा पनि ठिकै हो तर आजको यो लेख माथी आएका कुनै पनि एक्टर बारे नभई उस्तै जोड्दार अभिनयले परिचीत कलाकार बारे हो जो कुनै वर्गीकरण जान्दैनन् । उनलाई तपाईंले नो वन किल्ड जेसिकामा पनि हेर्नुभएको छ।एमएस धोनीमा हेर्नुभएको छ र उनको हरेक फिल्मको रोल तपाईंको स्मरणमा तरंगित भैरह्न्छ। पन्जाबमा जन्मेर बङालबाट आफ्नो अभिनयको झण्डा उचाल्ने यी कलाकार हुन राजेश शर्मा।
८ अक्टोबर १९७१मा पञ्जावको लुधियानामा जन्मिएका राजेश शर्माले दिल्लीको नेशनल स्कुल अफ ड्रामामा पढेका हुन् । आफ्नो अभिनय क्यारियरलाई अगाडि बढाउन संघर्ष गरिरहेका बेला यिनले जिविकाका लागि ट्याक्सी पनि चलाएका थिए। यिनले अभिनय गरेको बङाली फिल्म परोमित्र एकदिन निकै राम्रो फिल्म मानिन्छ ।
नकारात्मक भुमिकाका लागि पुरै बङालभर चिनिने शर्माले प्रतिबाध नामक फिल्ममा निभाएको टिनु गुन्डाको रोल अविस्मरणीय बन्यो।


आफू यो स्थानमा आइपुग्नुमा आफू तीन जना महिलाप्रती ऋणी रहेको शर्माले बताउने गरेका छन। जसमा उनकी आमा,उषा गाङुली(अभिनय गुरु) र अर्पणा सेन हुन। फिल्म माचिस बाट बलिउड प्रवेश गरेका यी कलाकारको पहिचान चाहिँ फिल्म नो वन किल्ड जेसिकामा यिनले निभाएको इन्सपेक्टरको रोलले दिलायो ।


यो फिल्ममा यिनले गरेको अभिनयको तारिफ अमिताभ बच्चनले पनि गरेका थिए। अभिनेत्री बिद्या बालनले त यिनलाई सबैभन्दा उत्कृष्ट क्यारेक्टर एक्टर भनेकी छिन् । यिनी खासमा त्यससमय कुनै अर्को फिल्ममा अभिनय गर्न मुम्बई आएका थिए तर त्यो रोल अरु कसैलाई दिई सकिएको थियोे र उनले नो वन्को रोलमा अडिसन दिनु परेको थियो। कहिलेकाही जे हुन्छ त्यो राम्रोकै लागि हुने रहेछ !


उम्दा प्रतिभाले भरिएका राजेश शर्माको अभिनय हेरेर नसरुद्दिन शाह यिनिबाट यति प्रभावित भएका थिए कि शाहले उनलाइ आफ्नो नाटक समुहमा जोडिन अनुरोध गरेका थिए। पन्जाबमा जन्मेर बङालमा पहिचान बनाएका यी कलाकारले पाँच दर्जन भन्दा धेरै हिन्दी फिल्ममा अभिनय गरेका छन् ।अहिले पनि बङालमै बस्ने यी अभिनेताले मुम्बई आउजाउ गर्नमै रुचि देखाएका छन् ।
ग्ल्यामर फिल्डले हल्लाखल्ला ज्यादा माग्छ। कसैलाई यसको लत चर्को पनि लाग्ने गर्छ जसका कारण ती अनेक हर्कत गरेर खबरमा रह्न चाहन्छन्

।अहिलेको बलिउडमा कंगना रनावत एक उदाहरण हुन। यहि सिने क्षेत्रमा अर्काथरी हुन्छन् जो आउछन्,चुपचाप काम गर्छन् र गरिरहेका हुन्छन् । मार्केटिङ कुन चराको नाम हो त्यसमा उनिहरु पर्नै चाहन्न । राजेश शर्मालाई पनि चुपचाप काम गर्नमै रुचि छ।
कुनै पनि कलाकारका लागि चरित्रबाट चर्चित हुन सक्नु ठूलो सफलता मिल्नु हो। राजेश शर्मा त्यस्तै एक कलाकार हुन जसलाई दर्शकले उनको पात्रको नामबाट बढी चिन्छन।

खोसला का घोषला,इश्किया,स्पेशल छब्बीस ,डर्टी पिक्चर आदि यिनका सफल चलचित्र हुन ।धेरै चलचित्रमा अभिनय गरिसकेका यी एक्टर पछिल्लो समय वेभ सिरिजमा पनि जमेका छन् ।केही समय अघि आएको र निकै चर्चामा छाएको पाताल लोक वेभ सिरिजमा पनि यिनको कामलाई सहराइएको थियो ।आफुलाई दिइएको भुमिकालाई जबर्जस्त बनाउन आफुले आफ्नो तर्फबाट सधैं इमानदार प्रयत्न गर्ने उनले एक अन्तर्वार्तामा बताएका छन् । दर्शकका रूपमा यिनको अभिनयलाई म प्राय इन्जोय नै गर्छु । तपाईंलाई यिनको अभिनय कस्तो लाग्छ ?

दिपक शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *