‘जेरीः अन टप’को छायांकन सकियो


‘जेरीः अन टप’को छायांकन सकिएको यसको निर्माणपक्षले बताएको छ । ६० दिनमा फिल्मको छायांकन सकिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।

मुस्ताङमा फिल्मको दृश्य खिचिएपछि छायांकन सकिएको बताइएको छ । तर, अझै २ वटा गीतको छायांकन भने बाँकी रहेको र त्यसको छायांकन भारत र नेपालमा गर्ने तयारी निर्माताको छ ।

फिल्मका निर्माता न्यौपानेले उत्कृष्ट फिल्म बनाउनका लागि कुनै पनि पक्षमा संझौता नगरिएको बताए । सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ र लुक्लामा फिल्मको छायांकन गरिएको छ ।

यस्तै, केही दृश्यको छायांकन काठमाडौंमा भव्य सेट लगाएर समेत गरिएको छ । यो फिल्मको बजेट झन्डै ६ करोड पुगेको दाबी समेत निर्माताको छ । फिल्मको अष्ट्रेलिया बाहेकको विदेश अधिकार ३ करोड एमजीमा बेचिएको दाबी समेत निर्माणपक्षले गरेको छ ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । वितरकसँग सल्लाह गरेर केही दिनमै प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *