देशका केही भू-भागमा बिहानैदेखि मौसम बदली र वर्षा
देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा छ । देशभर मनसुनी वायुको प्रभाव रहेको विभागको भनाइ छ ।