रोहितको शतकप्रेरित नेपाल चार विकेटले विजयी


कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’सँगको पहिलो ट्वान्टी–२० खेलमा चार विकेटको जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान रोहितले ११२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । ८२–३ को अवस्थाबाट रोहितले चौथो विकेटका निम्ति दीपेन्द्रसिंह ऐरीसँग ६४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । दीपेन्द्रले १८ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे ।

१२–१ को अवस्थामा ब्याटिङका लागि आएका रोहित आउट हुँदा नेपालको स्कोर १९२ रन थियो ।

ओपनर कुशल भुर्तेल र कुशल मल्लले समान १६ रन थपे । विवेक यादवले सात र अर्का ओपनर अनिल साहले पाँच रन बनाए । नेपालको जितसम्म अविजित रहेका गुल्सन झाले नौ र प्रतिश जिसीले पाँच रनको योगदान गरे ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्डे र ओबेड म्याकोयीले समान दुई विकेट लिए । किमो पाउलले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले कप्तान रोस्टन चेजको अर्धशतकमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का कप्तान चेजले ४५ बलमा नौ चौका र दुई छक्कासहित ७४ रन बनाए । चेजले १४६–४ को स्थितीबाट एडिम एलिनेसँग तेस्रो विकेटका निम्ति ५७ रनको साझेदारी गरेका थिए ।

ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन थपे । केसी कार्टीले ३८, कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन बनाए ।

नेपालका कमलसिंह ऐरी, कप्तान पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबार नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका थिए । मुख्य प्रशिक्षक मोन्टी देसाईले आसिफ शेख, सोमपाल कामी र करण केसीका स्थानमा यी तीन खेलाडीलाई मौका दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *