सूर्यज्योति लाइफको नाफा करिब ३४ प्रतिशत बढ्यो


चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २९ करोड ५४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीले ३३ दशमलव ८९ प्रतिशत बढी खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको कुल आम्दानी ४४ प्रतिशतभन्दा बढी र कुल खर्च साढे ४४ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष ६ अर्ब १६ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ८ अर्ब ८९ करोड रूपैयाँभन्दा बढी कल आम्दानी गरेको हो ।

कुल खर्च भने गत वर्ष ५ अर्ब ९४ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ८ अर्ब ६० करोड रूपैयाँभन्दा बढी भएको छ । यस वर्ष कम्पनीको खुद बीमाशुल्क आर्ज रकम करिब ३९ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म ४ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष ६ अर्ब ३७ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

खुद दाबी भुक्तानी रकम भने तेस्रो त्रैमाससम्म यस वर्ष ७ अर्ब १५ करोड रूपैयाँभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ अर्ब ७२ करोड रूपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको थियो । यो रकम गत वर्षको तुलनामा यस वर्ष करिब ५२ प्रतिशत बढी हो ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रूपैयाँ छ । ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाउन लागेको छ । वैशाख २१ गते आयोजना गर्न लागेको कम्पनीको १६औं वार्षिक साधारण सभाले प्रस्तावित बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीको रिटर्न अर्निग १ अर्ब ६० करोड रूपैयाँभन्दा बढी रहेको छ भने अन्य सम्पत्ति १ अर्ब २ करोड रूपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा ३ करोड ७२ लाख रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ८ रूपैयाँ ६७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रूपैयाँ ३१ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *