विस्तारै-विस्तारै लयमा फर्किंदै गरेको पर्यटन


कोरोना को बढ्दो संक्रमणका कारण लामो समय ठप्प बनेको पर्यटकीय क्षेत्रले बिस्तारै गति पक्रन थालेको छ । त्यसमाथि अंग्रेजी नयाँ वर्षले पनि त्यसलाई थप सघाएको पर्यटन व्यवसायी बताउँछन् । कोभिड कहरका कारण व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका उनीहरू नयाँ वर्षसँगै आशाको सञ्चार भएको बताउँछन् ।
काठमाडौंका अमित लामिछाने अंग्रेजी नयाँ वर्षको अवसरमा बुधबार पोखरा आए । विगत वर्षमा जस्तो कोठा नपाउने अवस्था भने रहेन । सजिलै लोकसाइडमा रोजेको होटलमा बस्न पाए । ‘नयाँ वर्षमा पोखरा नआई मनले मान्दैन,’ उनले भने, ‘प्राकृतिक सौन्दर्य, यहाँ हुने सडक महोत्सवलगायत अन्य पर्यटकीय गतिविधिका कारण मन लोभिन्छ ।’
कोरोना कहरका कारण सुस्ताएको पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । अंग्रेजी नयाँ वर्ष मनाउन आउनेका कारण पर्यटकीय केन्द्र लेकसाइड र सहरका भित्री भागका होटललगायत पर्यटन व्यवसायमा यति बेला केही राहत मिलेको छ । प्याराग्लाइडिङ, बन्जी जम्पजस्ता साहसिक पर्यटकीय गतिविधिमा पनि उनीहरूको उल्लेख्य सहभागिता छ । बुधबारबाट सुरु पोखरा सडक महोत्सवका कारण पनि पर्यटन क्षेत्रलाई केही हदसम्म चलायमान बनाएको छ ।
भारतीयसहित विदेशी पर्यटकको आगमन यतिबेला ठप्प रहेको पश्चिमाञ्चल होटल संघले बताएको छ । पोखरा आउने पाहुना सबै आन्तरिक हुन् । केही ठूला होटलको अकुपेन्सी ७० प्रतिशतसम्म पुगेको छ । मध्यम र साना होटलमा भने खासै पाहुना छैनन् ।
‘नयाँ वर्ष मनाउन र सडक महोत्सवका कारण यतिबेला औसतमा ३५ प्रतिशत अकुपेन्सी पुगेको छ,’ संघका अध्यक्ष बिकल तुलाचनले भने, ‘यति बेला हामीले पर्यटकको ठूलो अपेक्षा गरेका थिएनौं । गर्ने कुरा पनि भएन । तर जति आउनुभएको छ यो पनि उल्लेख्य हो ।’
विगत वर्षमा विदेशी पर्यटकको अकुपेन्सी २५ देखि ३० प्रतिशत रहने गरेकामा अहिले भने त्यो शून्यप्रायः छ । अंग्रेजी नयाँ वर्षको गन्तव्य पोखरा भएकाले पछिल्लो पटक आन्तरिक पर्यटकको ओइरो लाग्थ्यो ।
‘सडक महोत्सव पनि पर्यटन चलायमान गराउने एउटा मुख्य कारण हो,’ उनले भने, ‘पाहुना बोलाउँदै केही समयअघि हामी जाऔं है पोखरा अभियान लिएर वीरगन्ज, जनकपुर, विराटनगर र चितवन गएका थियौ ।’ पोखरामा ७ सय होटल र ३० हजार बेड छन् । यसैगरी तीन सय जति पर्यटकीय रेस्टुराँ छन् ।
नयाँ वर्ष र महोत्सवले सुस्ताएको पर्यटन क्षेत्रलाई केही हदसम्म चलायमान बनाउन र व्यवसायीमा उमंग र उत्साह थप्न फलदायी भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक आउनुभएको छ । यही तरिकाले गए पर्यटन क्षेत्र राम्रो हुने आशामा छौं,’ उनले भने, ‘आन्तरिक पर्यटकबाट पनि व्यवसाय धानिन सक्छ भन्ने सन्देश प्रवाह भएको छ ।’
आन्तरिक पर्यटकहरू यतिबेला अल्ट्रालाइट, प्याराग्लाइडिङ, बन्जी जम्पजस्ता साहसिक खेलकुदमा सहभागी हुने र पोखरा आसपासका स्थानमा समेत घुम्ने गर्छन् । प्याराग्लाइडिङलगायत साहसिक खेलमा रमाउनेको संख्या यति बेला बढेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।खुल्न थाले मुस्ताङका होटल
म्याग्दी– कोरोना कहरले नौ महिनादेखि बन्द हिमालपारिको मुस्ताङका होटल खुल्न थालेका छन् । कोभिड–१९ का कारण सरकारले गरेको लकडाउन खुले पनि कोरोना संक्रमण प्रभाव न्यून परेको ‘ग्रिनजोन’ मा रहेका मुस्ताङीले होटल खोलेका थिएनन् । मुस्ताङ प्रशासनका अनुसार सदरमुकाम जोमसोमदेखि तलका होटल व्यवसाय सोमबारदेखि खुल्न थालेका हुन् । तर मुक्तिनाथ र उपल्लो मुस्ताङका होटल भने अझै खुलेका छैनन् । मुक्तिनाथ मन्दिरमा भक्तजनले बाहिरैबाट दर्शन गरी जोमसोम फर्कन सक्ने भए पनि मुक्तिनाथ क्षेत्रमा बास बस्न मिल्ने गरी होटल खुलेका छैनन् ।
‘होटल व्यवसाय नौ महिनापछि औपचारिक रूपमा खुलेका छन् । देशभरका सबै पर्यटन क्षेत्र खुले पनि मुस्ताङका मात्र बन्द हुँदा यात्रुले बीच बाटोमा आएर पनि फर्कनुपरेको गुनासो बढेपछि व्यवसाय खुल्ने निर्णय भएको हो,’ प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले भनिन्, ‘मुक्तिनाथ भने अझै खुलेको छैन । केही दिनमा खुल्ने गरी छलफल गरिरहेका छौं ।’

अहिले मुस्ताङ भ्रमण गर्ने सिजन होइन । अफ सिजन र लामो समयदेखिको बन्दले कामदार तथा खाद्य सामग्रीसमेत जोहो नगरिएको घाँसाका पर्यटन व्यवसायी विक्रम गौचनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *