सर्वोत्तम सिमेन्टको आईपीओ बिक्रीमा, यस्तो छ कम्पनीको अवस्था
सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गते (आज) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।
सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ ।
अब तेस्रो चरणमा कम्पनीका कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरीएको छ । यी वाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।
बुक विल्डिङ विधिमार्फत विक्रीमा आएको यस कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । यो आईपीओ विक्री अवधि छिटोमा फागुन १६ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलो अवधि फागुन २७ गतेसम्म विक्री लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेड २०६७ साल असोज २० गते प्राइभेट कम्पनीको रुपमा खर्ता भई २०७६ साल साउन २९ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा रहेको छ । सिमेन्ट उत्पादन गर्ने उल्लेख भई ठुला उद्योगको रुपमा कम्पनीले २०६८ साल मङ्सिर २८ गते उद्योग विभागबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो । गते यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ ।
उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय तिनकुने सुविधानगर, काठमाडौंमा रहेको छ भने कारोबार गर्ने मुख्य स्थान समेत तिनकुने , काठमाडौंमानै रहेको छ । आवाश्यकता अनुसार स्वीकृति लिई कम्पनीले रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न र नेपाल भित्र या विदेशमा समेत शाखा खोल्न सक्नेछ ।
५ अर्ब रूपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रूपैयाँ छ । संस्थापक तर्फ ४ अर्ब ५ करोड रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीमा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको समेत गरी सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी ४ अर्ब ६५ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीले संस्थापक तर्फ ८७ दशमलव ०९६७ प्रतिशत शेयर स्वामित्व कायम छ । सर्वसाधारणमा कम्पनीमा १२ दशमलव ९०३३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय अवस्थालाई हेर्दा कम्पनीको जगेडाकोष सकारात्मक रहेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा २ अर्ब ८७ करोड रूपैयाँभन्दा बढी रहेको जगेडा कोष आर्थिक वर्ष ०७७/७८ मा २ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी कायम भएको थियो ।
त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा २ अर्ब ९० करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष गत आर्थिक वर्ष ०७९/८० मा भने ३ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी कायम रहेको हो । चालू आर्थिक वर्षभित्र भने कम्पनीले ४ अर्ब ९८ करोड रूपैयाँभन्दा बढी जगेडा कोष कायम गर्ने प्रक्षेपण गरेको छ । वास्तविक वित्तीय अवस्था महत्वपूर्ण हुने भएकाले गत आर्थिक वर्षको अन्त्यसम्मको वास्तविक अवस्था अनुसार कम्पनी ५ रूपैयाँ २८ पैसा प्रतिशेयर आम्दानीमा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८५ रूपैयाँ ३६ पैसा रहेको छ ।