अगस्त्यः फागुन महिनाको ‘मोस्ट वान्टेड’ फिल्म
फस्टलुकदेखि नै चर्चामा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’को चर्चा चुलिएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक, टिजर र ट्रेलरपछि दर्शकको उत्साह पनि बढेको छ । अधिकांश दर्शकले फिल्मको ट्रेलरपछि हलमा टिकट काट्ने प्रतिक्रिया दिइरहेका छन् । दर्शकको स्वाद फेरिँदै जाँदा यसको मेकरले पनि त्यसलाई बुझेको देखिन्छ ।फिल्मको ट्रेलरमा मुख्य नायक सौगात मल्लको गेटअप, एक्सन, कथावस्तु, नाजिर हुसेनको अभिनय र गेटअपले दर्शकलाई प्रभावित बनाएको छ । साथमा फिल्मका खलपात्र प्रमोद अग्रहरीको संवाद र गेटअपले पनि दर्शकलाई उत्साहित बनाएको छ ।
भारतमा एक्सन फिल्मको ट्रेन्ड चलिरहेको समयमा नेपालमा पनि विस्तारै यही लयमा फिल्म क्षेत्र दौडन थालेको छ । यदि, ‘अगस्त्य’को व्यापार बलियो भयो भने नेपाली फिल्मको कथा भन्ने शैली फेरिनेछ ।नायक सौगात मल्लले पनि यो फिल्म आफ्ना लागि यादगार फिल्म हुने बताइसकेका छन् । नायक नाजिर हुसेनले फिल्मका लागि गरेको मिहिनेत आफैंमा रोचक छ । जन्डिस हुँदा पनि ४४ डिग्री तापक्रममा नाजिरले काम गरेका थिए ।
फागुन महिनामा यो फिल्म ‘मोस्ट वान्टेड’ फिल्मको रुपमा देखा परेको छ । यदि, फिल्मको बक्स अफिस सशक्त बन्यो भने अन्य निर्माताले पनि यस्तै फिल्म बनाउने लहर आउन सक्छ । के ‘अगस्त्य’ नेपाली फिल्मको ट्रेन्ड सेटर बन्ला त, फागुनको १८ सम्म प्रतीक्षा गर्नैपर्छ ।