निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो : चन्द्र ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन ।
पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तर्क्रियामा वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताए ।
“राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन सक्दैन ।
राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई निरुत्साहित गरेको छ । सबै व्यवसायीहरुलाई एउटै बास्केटमा राखेर हेर्नुहुँदैन,” उनले भने ।
मुलुकलाई आर्थिक विकास तथा सम्मृद्धिको बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।