भन्सारमा नयाँ प्रविधि प्रयोग गर्न प्रशासन उत्सुक भएन

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा नयाँ प्रविधि प्रयोग गर्न प्रशासन उत्सुक नभएको बताएका छन् । ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री डा. महतले भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नेमा भन्सार प्रशासन उत्सुक नभएको बताएका हुन् । उनले भने, “भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नेमा भन्सार प्रशासन उत्सुक नभएको पाइएको छ । त्यो प्रवृत्ति त्याग्नुपर्छ । मुख्य नाकामा प्रविधिको प्रयोग बढाउनुपर्छ ।”
मन्त्री महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । आज विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको उनले औँल्याए । “समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भने ।
मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा जोड दिए । उनले अर्थतन्त्रलाई थप चलायमान बनाउन राजस्व प्रशासनलाई चुस्त बनाउन आवश्यक रहेकोमा जोड दिए । समयसापेक्ष नविनतम प्रविधिको प्रयोग गरी सदाचारिता र पारदर्शिता कायम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।