स्वास्थ्य बीमा कार्यक्रममा माघ १ देखि सह-भुक्तानी प्रणाली लागू


सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्न लागेको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सह-भुक्तानी प्रणाली  सम्बन्धी कार्यविधि निर्माण गरी माघ १ देखि कार्यान्वयनमा आउने व्यवस्था गरेको जानकारी दिएको हो ।

यस व्यवस्थालाई सेवा प्रदायक स्वास्थ्य संस्था बीमित नागरिक र सरोकारवालाहरूले जवाफदेही र सचेत भएर स्वास्थ्य सेवा लिने दिने गरी पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि स्वास्थ्य बीमा बोर्ड अपिल गरेको छ ।

बीमित नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई सेवा उपभोग गर्दा तत्काल सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमानुसार तोकिएको केही रकम तिर्नु पर्ने व्यवस्था नै सहभुक्तानी प्रणाली हो हो । यस प्रणालीमा बीमितले तोकिएको स्वास्थ्य सेवा लिंदा लाग्ने कुल खर्चको १० प्रतिशत आफैंले तिर्नु पर्ने व्यवस्था छ ।

बोर्डका अनुसार अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुर्नस्थापना सेवा लिँदा सह-भुक्तानी प्रणाली व्यवस्था लागू हुनेछ । लक्षित वर्गको बीमितलाई भने यो प्रणाली लागू हुनेछैन । प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका सरकारी अस्पतालमा र आकस्मिक अवस्थामा स्वास्थ्य सेवा लिंदा यो व्यवस्था लागू नहुने बताइएको छ ।

यसैगरी नेपाल सरकारद्धारा निःशुल्क प्रदान गर्नका लागि तोकिएका सेवाहरूमा यो व्यवस्था लागू नहुने बोर्डले जनाएको छ । आकस्मिक अवस्थामा स्वास्थ्य सेवा लिँदा र नेपाल सरकारद्धारा निःशुल्क प्रदान गर्नका लागि तोकिएका सेवाहरूमा यो व्यवस्था लागू नहुने बोर्डले जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *