चाडपर्वबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्छ : विद्यादेवी भण्डारी
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास उनको छ ।
उधौली पर्वका अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपक्षी लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलका लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामनासहित भूमिको पूजा गर्छन् ।
साथै यस पर्वका अवसरमा किराँत महिला र पुरुषहरू खुला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न क्रियाकलापको अनुकरण गर्दै सामूहिक रूपमा ‘साकेला’ नृत्य गर्ने परम्परा छ ।