सरकारले देशलाई बर्बाद गरिसक्यो, प्रधानमन्त्री फेर्नैपर्छ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरूकै हात रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको बताए ।
“सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो, एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ,” उनले भने ।
देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूल्ठूला भ्रष्टाचार गरेको कोइरालाको दाबी छ ।
उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने पनि बताए । देशलाई निकास दिन प्रधानमन्त्री फेर्ने प्रयास भइरहेको कोइरालाको भनाइ छ ।
अहिलेको सरकाले देशलाई बर्बाद गरेको उनले जिकिर गरे । “देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,” उनले भने, “संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।”