गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट दर्ता


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिकारीको शैक्षिक योग्यता गभर्नर बन्न अपुग रहेको जिकिर गर्दै अधिवक्ता दीपकराज जोशी र दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा रिट दर्ता गरेका हुन्‌ ।

अधिकारीले गभर्नर बन्न अर्थ मन्त्रालयमा बुझाएको वैयक्तिक विवरणमा स्नातक तहसम्मको मात्रै कागजात रहेको रिटमा जिकिर गरिएको छ ।

उनले सन्‌ १९९८ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको, सन् १९९३ मा भारतको एक कलेजबाट चार्टड एकाउन्टेन्सी (सीए) उत्तीर्ण गरेको भनिए पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सो योग्यता अपुग भएको दाबी रिट निवेदकहरूले गरेका हुन्‌ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ । यो व्यवस्थाअनुसार सीएको योग्यतालाई नेपालमा स्नातकोत्तर उपाधि मान्ने नगरिएको दाबी गर्दै रिट दायर गरिएको हो ।

अधिकारीलाई तत्कालीन सरकारले वि.सं. २०७६ चैत २४ गते केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको थियो । यसबीच उनी नेकपा (माओवादी केन्द्र) बाट अर्थमन्त्री रहेका जनार्दन शर्मा प्रभाकरसँगको टकरावका कारण चर्चामा आएका थिए ।

हाल माओवादी केन्द्रको सरकार रहेका कारण गभर्नर अधिकारीलाई अभरमा पार्न रिट दर्ता गरिएको उनीनिकट स्रोतहरू दाबी गर्छन्‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *