भूकम्पपीडितका ११ हजार अस्थायी आवास निर्माण
पछिल्लो समय पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावित ६७ हजार बढी लाभग्राहीमध्ये मंगलबारसम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार ११८ घर निर्माणाधीन छन्।
अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार जाजरकोटमा ५ हजार २०२, रुकुम पश्चिममा ५ हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।
पोखरेलले अहिलेसम्म केन्द्रबाट अस्थायी आवासका लागि २ अर्ब २६ करोड रकम जिल्ला विपत् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए। त्यसमध्ये १ अर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ। स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रकम पठाइसकिएको पोखरेलले बताए।
अहिलेसम्म जाजरकोटमा ३५ हजार १४०, रुकुमपश्चिममा २३ हजार ६०८, सल्यानमा १ हजार ७३०, बझाङमा ४ हजार ५७६ र बाजुरामा २ हजार २२९ गरी कुल ६७ हजार ७८३ लाभग्राही कायम भएका छन्।
अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए।