‘मीन घले समूहले १ क्विन्टल ३८ किलो सुन तस्करी गर्यो’
तस्करीको १४ किलो सुन प्रकरणमा छानबिन गर्न गठित समितिले गोरखाका मीन घलेको समूहबाटै नेपालमा कम्तिमा १ क्विन्टल ३८ किलो (१३८ किलो) सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।
गत मंसिर २१ गते बिहीबार राति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १४ किलो सुनसहित गोरखाकै चन्द्र घले पक्राउ परेका थिए । दुबईबाट सो सुन भित्र्याउन चन्द्रलाई सुन तस्कर गिरोहले भरियाका रूपमा उपयोग गरेको थियो ।
भेष्ट बनाएर त्यसैमा सुन राखी खुलेआम तस्करी हुने गरेको घटना सार्वजनिक भएपछि भन्सार कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिले मीन घलेकै समूहले कम्तिमा १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो । तर १३८ किलोमध्ये १४ किलोमात्रै बरामद हुन सकेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
समितिले छानबिन प्रतिवेदनमा मीन घलेले सुन तस्करी गर्न दुबईमा रहेका अंकित अग्रवाल नामक व्यक्तिसँग सम्पर्क गर्ने गरेको उल्लेख गरेको छ ।
घलेले सुन तस्करी निम्ति विमानस्थलमा सेटिङ मिलाउन डिबी भनिने दानबहादुर गुरुङलाई र विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्ययन कार्यालय गौचरनका एसी मेकानिक राधाकृष्ण श्रेष्ठलाई प्रयोग गरेको देखिएको छानबिन समितिले उल्लेख गरेको छ ।
यसैगरी नागरिक उड्ययन कार्यालयकै सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतको सहयोगमा सुन तस्करी हुने गरेको पनि समितिले दाबी गरेको छ ।