माओवादीले राम्रो काम गर्यो, जस अरूले लिए
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरण र गतिशील बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको बूढानीलकण्ठ नगर सम्मेलनको उद्घाटन गर्दै उनले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापित भएको जिकिर गरे । पार्टी रूपान्तरण र गतिशील बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने उनको भनाइ थियो ।
माओवादीलाई बलियो बनाए मात्र मुलुकको परिवर्तनको रक्षा हुन सक्ने उनले बताए । आउँदो फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढंगले विचार संश्लेषण गरिने उनले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा रहेको स्ववासीको समस्या हल गर्न नयाँ ऐन ल्याउने र लालपुर्जा वितरणको तयारी भइरहेको बताए । आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य गरिएको भन्दै उनले तेस्रो कार्यकालमा सिंगो देश उज्यालो बनाउने गरी योजना बनाइएको उल्लेख गरे ।माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जस अरूले लिएको जिकिर उनले गरे ।