फ्रान्स र नेदरल्यान्डका फिल्म फेस्टिभलमा छानियो ‘साक्षी रुख’
नेपाली सर्ट फिल्म ‘साक्षी रुख’ (द विटनेस ट्री) दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भएको छ।
निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको यो फिल्म नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा छनोट भएको हो। नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने निर्माता रहेको ‘साक्षी रुख’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको थियो। फिल्मका निर्मातामध्येका एक नवनिधि दहालले भने, ‘कोभिडका कारण भएको लकडाउनको अप्ठ्यारो बेलामा समयको सदुपयोग गर्ने सोचले संयुक्त राज्य एमिरेट्सको शारजहाँ आर्ट फन्डका लागि फिल्म पठाउने सोचले साक्षी रुख जन्मिएको हो।
शारजहाँ आर्ट फन्डबाट ३५ लाख नेपाली रुपियाँ बराबरको आर्थिक सहयोग पाइने सम्भावनाले हामीले त्यसमा फिल्मको कथा पठायौँ। त्यसपछि जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सव अन्तर्गतको सर्ट फर्म स्टेशनमा छानिएपछि उत्साह थपियो।’
इन्टरनेसनल फिल्म फेस्टिभल रोटर्ड्याम र क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत साक्षी रुख छानिएपछि त्यो उत्साह अझै धेरै थपिएको उनी बताउँछन्। उनले भने, ‘मेरो जानकारी अनुसार क्लेर्मोन्ट फेर्रान्डमा कुनै पनि नेपाली फिल्म प्रतिस्पर्धामा छनोट भएको यो नै पहिलो पटक हो। छोटो फिल्म छनोट भए पनि यसले समग्र नेपाली फिल्म क्षेत्रकै लागि कुनै न कुनै अर्थ राख्छ भन्ने विश्वास छ।’