राजावादीको मोर्चा बनाउन कमल थापाको आह्वान
राप्रपा नेपालले जनताको चाहनाअनुसार बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समान विचारधारा भएकाहरु जुटेर काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
“समान विचारधारा भएकाहरु छरिएर होइन, जुटेर काम गर्यौँ भने देशमा सकारात्मक परिवर्तन सम्भव छ । अहिले नेतृत्व वा समूहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होइन । सामूहिक नेतृत्व र सबैको ससम्मान सहभागिताको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दबाबमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ,” प्रवक्ता वसन्तमान सिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पछिल्ला प्रदर्शनले जनता विकल्पको खोजीमा छन् भन्ने स्पष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने बैठकमा बृहत् राष्ट्रिय मोर्चा निर्माण र भावि आन्दोलनको कार्ययोजना पेस गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिएका छन् ।