१९ म्यानपावर कम्पनी कारबाहीमा :वैदेशिक रोजगार विभाग


चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना (साउन देखि कार्तिकसम्म)मा वैदेशिक रोजगार विभागले १९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । यो चार महिनामा बदमासी गर्ने १९ म्यानपावर कम्पनीलाई विभागले कारबाही गरेको हो ।

जस अनुसार १४ वटालाई भने विभागले सिधै निलम्बन गरेको छ । उनीहरुले जापनी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्विकृती लिई नेपाली कामदारलाई जापान पठाएको कारण निलम्बन गरिएको विभागले जनाएको छ । विभागका अनुसार यसरी निलम्बनमा पर्नेहरुमा गुड लाइफ इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभर डिएन इन्टरनेशनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी, रोय, ओभरसिज नेपाल, जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिसेस, लायन्स इन्टरनेशनल नेपाल, भण्डारी ओभरसिज, वर्ल्ड फेबर ओभरसिज, नेप इन्टरनेशनल, मन्जुश्री ओभरसिज, एनएनएस एसोसिएटस, क्यापिटल इन्टरनेशनल म्यानपावर, ग्राण्ड सुइट जब, र अवतर ह्युमन रिसोर्स रहेका छन् रहेका छन् । विभागले यी कम्पनीहरुलाई गत असोज १५ गते निलम्बन गरेको हो ।

त्यसैगरी, साउन २४ गते २ वटा कम्पनीलाई विभागले कारवाही गरेको जनाएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले सम्झौता बमोेजिम सुविधा पाउन नसकि फिर्ता भएको र उनीहरुलाई क्षतिपूर्ति नदिएको विषयमा २ वटा कम्पनीलाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा नवज्योति एचआर सोलुसन र डिलक्स एचआर सोलुसन रहेका छन्। पिडितहरुलाई क्षतिपूर्ति दिनका लागि विभागले गरेको निर्देशनको पालना नगरेका कारण उक्त कम्पनीहरुलाई एक लाख रुपैयाँ जरीवाना र ईजाजतपत्र रद्द गरेको विभागले जनाएको छ ।

त्यसैगरी, विभागको पूर्वस्वीकृतिविना सामिाजिक सञ्जाल फेसबुक मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा विदेश पठाउने गरी शंकास्पद कार्य गरेको आरोपमा ओमेगा इन्टरनेशनल प्राली र व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा वठाउने कार्यमा संलग्न भएको आरोपमा ओक्सोन इन्टरनेशनल प्रालीलाई भदौ १२ गते विभागले कारबाही गरेको हो । उक्त कम्पनीहरुलाई निलम्बन गरेको विभागले जनाएको छ ।

यसैगरी, दैलेख ओभरसिज लाई साउदीमा पठाएको कामदारको विचल्ली पारेको आरेपमा निलम्बन गरेको छ। विभागका अनुसार काठमाडौंको गौशला स्थित सो कम्पनीले साउदी अरेवियाको रियाद स्थित अब्दुल्लाह बिन ईसा बिन हमाद अल वेडन जनरल कन्सल्टिङ कम्पनीमा पठाएका कामदार बिचल्लीमा परेका हुन् । उनीहरुलाई २ महिनादेखि हालसम्म काम तलब र अन्य सेवा सुबिधा समेत नदिएकोले नेपाल फर्किन पाँउ भन्ने समेत व्यहोराको निवेदन प्राप्त भएको विभागले उल्लेख गरेको छ । यसका साथै २०/२५ जनालाई एउटै कोठामा राखेको पनि विभागले उल्लेख गरेको छ ।

विभागले उक्त म्यानपावर कम्पनीलाई सो समस्याको समाधान गर्न निर्देशन समेत दिएको छ । विभागका अनुसार समस्या समाधान नभएसम्म कम्पनी निलम्बनमा रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *