माइतीघर क्षेत्रको निषेधाज्ञाविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
माइतीघर र राष्ट्रपति कार्यालय क्षेत्रमा जारी गरिएको निषेधाज्ञाविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले रिटमा माग भएबमोजिमको आदेश जारी गर्नुनपर्ने कारण सरकारसँग माग गरेको हो ।
अधिवक्ताद्वय भद्रप्रसाद नेपाल र प्रेमप्रसाद शिलवालले निषेधाज्ञा लगाउने आदेश गैरसंवैधानिक भएको भन्दै खारेजीका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
अब दुवै पक्षको तर्क सुनेपछि अन्तरिम आदेशका लागि निर्णय हुने छ ।
जिल्ला प्रशासन कार्यालयले व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले ७ मंसिरमा एकसाथ आन्दोलनको घोषणा गरेपछि ३० दिनका लागि राष्ट्रपति कार्यालय आसपास र माइतीघर मण्डला आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।सर्वोच्चले यसअघि नै ओली नेतृत्वको नेकपाको सरकारका समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले जारी गरेको निषेधाज्ञाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सरकारको निर्णय खारेज हुने गरी फैसला गरिसकेको छ ।