‘पशुपतिप्रसाद-३’बन्दै, त्यसअघि ‘मेयर’ निर्देशन गर्दै दीपेन्द्र
चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ हलमा चलिरहेका बेला यसको सिक्वेलको घोषणाको तयारीमा निर्माण पक्ष जुटेको छ । ‘पशुपतिप्रसाद–३’ घोषणाको तयारीमा निर्माण पक्ष जुटेको हो ।
खगेन्द्र लामिछाने निर्माता रहने चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । कथा खगेन्द्र स्वयंले लेख्नेछन् । गत शनिबार चलचित्र निर्माणको घोषणा गर्ने तयारी भए पनि जाजरकोट भूकम्पका कारण अन्तिम समयमा आएर घोषणा कार्यक्रम स्थिगित हुन पुगेको थियो ।
‘पशुपतिप्रसाद–२ : भष्मे डन’ पछि दीपेन्द्र अहिले चलचित्र ‘मेयर’को तयारीमा जुटेका छन् । तिहारपछि उनी ‘मेयर’को सुटिङ सुरु गर्ने तयारीमा छन् । चलचित्रको नाम ‘मेयर’ भए पनि काठमाडौं महानगरपालिका वा अन्य कुनै महानगरका मेयरमा आधारित रहेर सिनेमा नबन्ने निर्देशक दीपेन्द्रले स्पष्ट पारिसकेका छन् ।
त्यसपछि भने उनी अर्को चलचित्र ‘आमा–२’ निर्देशन गर्दै छन् । डीएस डिजिटलको ब्यानरमा बन्ने ‘आमा–२’ लाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् ।