ऋणीलाई नकस्न र ब्याजदर घटाउन बैंकसँग अर्थमन्त्रीको आग्रह


अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरूसँग ऋणीलाई धेरै नकस्न आग्रह गरेका छन्‌ । भूकम्प र कोरोना महामारीपछि लिएको कर्जा तिर्न नसकेका ऋणीहरूका कारण बैंकहरूको खराब कर्जा रेकर्डस्तरमा पुगिरहँदा अर्थमन्त्रीले यस्तो आग्रह गरेका हुन्‌ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने, ‘विगतमा बैंकको लगानी गलत ठाउँमा प्रयोग हुँदा र घरजग्गा लगायतमा भएको अत्यधिक लगानी र मूल्य वृद्धिले हाल समस्या देखिएको हो, समस्यामा परेका ऋणीलाई धेरै नकस्न आग्रह गर्छु ।’

डा. महतले बैंकहरुलाई ब्याजदर घटाउन आग्रह पनि गरेका छन्‌ । उनले पछिल्ला दिनमा आयात समेत बढेकोमा खुसी व्यक्त गरे । नेपालको अर्थतन्त्र राम्रै र सही दिशामा अघि बढिरहेको दाबी गरे । अर्थतन्त्र खराब भयो भने हल्ला र त्यसले लगानीकर्ताको आत्मविश्वासमा पारेको प्रभाव खास समस्याको रूपमा रहेको उनको तर्क छ ।

केही महत्वपूर्ण जलविद्युत आयोजना बन्ने पक्का भएको पनि अर्थमन्त्री महतले जानकारी दिए । जलविद्युत् निर्यात गरेर मुलुक धनी बन्ने दाबी गर्दै महतले सूचना-प्रविधि क्षेत्रलाई अब अर्थतन्त्रको बलियो आधार बनाइने उनले बताए।

पर्यटन क्षेत्रमा विकास गरेर धेरै ठूलो जनशक्तिलाई रोजगारी उपलब्ध गराउने तयारी आफूले गरिरहेको योजना पनि अर्थमन्त्री महतले सुनाए । कृषिमा नयाँ प्रविधि प्रयोगमा जोड दिँदै बजेट तयार गरेको महतले जानकारी दिए ।

गएराति जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने बताउँदै डा. महतले निजी क्षेत्रले समेत त्यसका लागि गरेको प्रतिवद्धताका निम्ति धन्यवाद ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *