स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएका छन् । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ बिहान जाजरकोट जान लागेका हुन् ।
“बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा तीनवटा हेलिकोप्टर परिचालन हुनेछन्,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “सुर्खेतलगायत छिमेकी जिल्लाहरूवाट खोज तथा उद्वारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको अवस्था छ ।”
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ चारपटक क्रमशः ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । केही सडकहरू बन्द भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवा परिचालित भएर काम गरिरहेको बताएको छ । “यस्तो परिस्थितिमा सबै खोज तथा उद्धार, उपचार एवं राहतमा जुट्न आवश्यक देखिन्छ,” सचिवालयले भनेको छ ।