तीन महिनापछि जर्मनी जान आवेदन खुल्ने, ‘फ्रि भिसा फ्रि टिकट’!


नेपाली कामदारहरू संस्थागत बाटोबाट जर्मनी जानेगरी श्रम सम्झौता भएको छ। रोमानियासँग श्रम सम्झौता भएको ४ दिनपछि सरकारले मंगलबार युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता गरेको हो।

सम्झौता अनुसार जर्मनीले नेपाली दक्ष श्रमिक लैजान ३ महिनापछि आवेदन खुला गर्ने भएको छ। नेपाली नागरिकलाई प्रशिक्षार्थी श्रमिकका रुपमा लैजाने गरी श्रम सम्झौता भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीमा मंगलबार नेपाल र जर्मनी सरकारबीच सम्झौता भएको हो।अबको तीन महिनापछि फ्रि भिसा फ्रि टिकेटमार्फत् जर्मनी जानसक्ने गरी बाटो खुल्ने मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए। यसअघि जर्मनीसँग श्रम सम्झौता भएको थिएन। श्रम सम्झौता नगरेको भएता पनि विभिन्न बाटो भएर नेपाली श्रमिक जर्मन पुग्ने गरेका छन्। भिजिट भिसा अथवा अवैध बाटो भएर हजारौँको संख्यामा नेपाली श्रमिक रोजगारीका लागि जर्मन पुग्ने गरेका उदाहरण छन्।

यसरी जाँदा लाखौँ रकम खर्चिनु पर्ने बाध्यता थियो। अबदेखि  यो बाध्यता हटेको सहसचिव पोखरेलले बताए।

सम्झौताअनुसार नेपालीहरूले श्रम भिसामा जर्मनी लागि जर्मनीले अनलाइन प्रणालीबाट आवेदन माग गर्ने छ। जर्मनी जान चाहने उमेर पुगेका नेपाली युवाहरुले आवेदन दिन पाउनेछन्। मन्त्रालयका अनुसार यसका लागि जर्मनी भाषामा दोहोरो कुराकानी गर्नसक्ने हुनुपर्नेछ। त्यसपछि जर्मन सरकारले आवेदन दिइएका श्रमिक छनोट गर्नेछ। नेपाली श्रमिक फ्रि भिसा फ्रि टिकटमाा (शून्य लागतमा) जर्मनी जान पाउने सहसचिव पोखरेलले बताए।

जर्मनी गएपछि प्रशिक्षार्थी श्रमिकले जर्मनको भोकेस्नल ट्रेनिङ इन्स्टीच्यूटमा आफ्नो रुचि र क्षमताअनुसार प्रशिक्षार्थी कामदारको रुपमा एक वर्ष तालिम लिनुपर्ने छ। सो अवधिभरको पारिश्रमिक समेत श्रमिकले पाउने व्यवस्था रहेको छ।

तालिम लिइसकेपछि श्रमिकहरु कामको लागि योग्य मानिने र त्यहाँको श्रमबजारमा काम गर्न पाउँने पोखरेलको भनाइ छ।

जर्मनी जानका लागि विशेष कामको क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा उद्योग कृषि लगायतका सम्पूर्ण क्षेत्रमा कामको लागि आवेदन माग गरिने गरी श्रम श्रम्झौता गरिएको उनले बताए। कति कामदार लैजाने भन्नेबारे सीमा तोकिएको छैन। तर पारिश्रमिक कति पाउने भन्ने पनि निर्धारण भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *