‘परदेशी २’ र ‘पशुपति प्रसाद २ भष्मे डन’ नजुध्ने
दसैँको फूलपातीलाई प्रदर्शन मिति तोकेर एकाआपसमा भिड्न लागेका दुई नेपाली चलचित्र ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ भष्मे डन’को प्रदर्शन मिति परिवर्तन भएको छ ।
परदेशी २ का निर्देशक नारायण रायमाझी र पशुपति प्रसाद २ भष्मे डनका लेखक तथा निर्माता खगेन्द्र लामिछाने चलचित्र नजुधाउन सहमत भएका हुन् । सम्झौता भएसँगै अब परदेशी २ असोज २६ गते घटस्थापनाको दुई दिन अगाडि र पशुपति प्रसाद २ भष्मे डन २०८० कात्तिक ४ गते फूलपातीको दिन प्रदर्शन हुने भएको छ ।“आज चौथोपटक छलफल गरेर हामी अलग अलग मितिमा सिनेमा प्रदर्शनमा ल्याउनको लागि सहमत भएका छौँ । जसअनुसार परदेशी २ असोज २६ गते घटस्थापनाको दुई दिन अगाडि र र पशुपति प्रसाद २ भष्मे डन २०८० कात्तिक ४ गते फूलपातीको दिन प्रदर्शन हुने कुराको विनम्र जानकारी गराउँदछौँ,” विज्ञप्तिमा उल्लेख छ ।