स्बरुप फेर्दै कोरोना भाइरस, नाइजेरियामा नयाँ प्रकार फेला
नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । उनले यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक भएको पाइएको पछि यो आविष्कारले महामारी नियन्त्रणमा थप चुनौति थपिएको छ । बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाइसकेको छ ।
‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले बिहीबार पत्रकारहरुसँग भने । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने जानकारी दिए ।
‘केही भन्नु अहिले नै चाँडो हुनेछ । हामीलाई केही समय दिनुहोस्,’ उनले भने । भाइरसको नयाँ प्रकार गत अगस्त ३ र अक्टोबर ९ मा नाइजेरियाको ओसुन राज्यमा संकलन गरिएको स्याम्पलमा दुई जनामा पाइएको एसोसिएटेड प्रेसले जनाएको छ ।