साढे ७८ प्रतिशतले घट्यो हिमालयन लघुवित्तको नाफा
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५३ लाख रूपैयाँभन्दा खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ७८ दशमलव ५० प्रतिशत कम भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले ७ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । गत वर्ष कम्पनीको इम्पेरेमन्ट चार्ज १ करोड ३२ लाख रूपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्ष १० करोड ४९ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ७९ प्रतिशत कम २ करोड १९ लाख रूपैयाँभन्दा बढी भएको छ ।
गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६० लाख ९८ हजार रूपैयाँ रहेको छ । ११ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रूपैयाँ पुर्याएको कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम १३ करोड ९६ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
गत वर्ष अघिल्लो वर्षभन्दा १९ प्रतिशत बढी ४ अर्ब १६ करोड ४४ लाख रूपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १५ प्रतिशत बढी ४ अर्ब ४३ करोड ७७ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ रूपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रूपैयाँ ८५ पैसा रहेको छ ।