फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स बिक्री
फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स बिक्री भएको छ। यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको अन्तर्राष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो।
फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच आधिकारिक सम्झौता भइसकेको छ।
फिल्म ‘कार्साङ’का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतिक) सुवेदी र रमेश ढकालले सम्झैता गरेका हुन्। फिल्मको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको छ।
यम शेर्पाको निर्देशनमा बन्ने यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् भने नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छन्।
निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्। फिल्ममा उनी स्वयंको लेखन रहेको छ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन्।