ओली र दाहाल-नेपाल समूहको आज अलग अलग केन्द्रीय कमिटी बैठक
संसद विघटनपछि निरन्तर समानन्तर बैठकगरिरहेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज पनि अलग अलग केन्द्रीय कमिटी बैठक बस्दैछ ।
प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तर रूपमा केन्द्रीय कमिटी बैठक गरेका दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेको बुझिएको छ
।काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे हुने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको बैठकमा सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि दिउँसो साढे १२ बजे बालुवाटारमा बैठक डाकेको छ ।
बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।
दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।
दुई समूहबीच अब पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू भएको छ । यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेको बताइन्छ।