चुनाव खर्च नबुझाउनेको सूचीमा परेपछि सोबिता गौतमको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आफूले निर्वाचन आयोगले तोकेकै समयभित्र चुनाव खर्च बुझाएको बताएकी छन् ।
तर, पनि आयोगले कानुनको गलत व्याख्या गरी बिना कानुनी आधार आफ्नो नामको दुरुपयोग गरेर चुनाव खर्च नबुझाउनेहरूको सूचीमा राखेको भन्दै ध्यानाकर्षण गराएकी छन् ।
उनले आफूले ०७९ मंसिर २८ गते नै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचन खर्च विवरण पेस गरेको बताएकी छन् ।
निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानुनी आधार देँखिदैन । निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु,उनले भनेकी छन् ।
आयोगले मंगलबार चुनावको खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा गौतमको पनि नाम समावेश गरेको छ ।