पठनपाठन रोकिए शिक्षक, कर्मचारीलाई हटाउने मेयर बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
असार ३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा समाचार आएको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत विद्यालयमा पठनपाठन रोकिएका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् ।
विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ)ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको पनि उनले स्मरण गराएका छन् । उनले काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको स्पष्ट पारेका छन् । उनले महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।